Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation

LUMBINI DEVELOPMENT TRUST

Flag Flag

Search

पत्रकारहरुसँग छलफल

2 Years ago   June 30, 2024   Visted:422  

लुम्बिनी, बैशाख १३ । कोरोनाको कारण चौतर्फी असर परिरहेको बेला आगमि जेठ १२ गते परेको २५६५ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको कार्यक्रम पनि विगतको भन्दा फरक प्रकृतिको हुने भएको  छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाका अनुसार कोभिढको कारण मृत्यु भएका संसारभरीका मृतकहरुको स्मृतिमा लुम्बिनीमा दीप प्रज्वलन गरिने तयारी भईरहेको छ । उपाध्यक्ष मेत्तेयाले भन्नुभयो, “भगवानको शिक्षा नै दुखः आर्यसत्यबाट शुरु भएको छ  । यतिबेला कोरोनाको कारण संसार दुखःमा छ । हामी दुखःमा रहेको संसारलाई कसरी पीडामुक्त गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेका छौं । ”

मृतकको नाममा दीप प्रज्वलन गर्ने, परित्राण पाठ गर्ने, संघदान गर्ने जस्ता आध्यात्मीक कार्यक्रम गर्ने गरी यसपटकको बुद्धजयन्तीको कार्यक्रम बनाईरहेको उपाध्यक्षले बताउनुभयो । उपाध्यक्ष मेत्तेयाले भन्नुभयो, “सरकारले जारी गरेको स्वास्थ्य मापदन्डलाई अपनाउदैं भौतिक उपस्थिति अत्यन्तै कम गरेर लुम्बिनीमा कार्यक्रम गर्नेछौं । हामि डिजिटल प्रविधिको प्रयोग मार्फत संसारभरीका श्रद्धालुहरुलाई कोरोनाको पीडाबाट नआत्तिन , मनोबल उचो गराउन सकारात्मक सन्देश दिने तयारीमा छौं । ”

सुझाब संकलन शुरु

यसैबीच लुम्बिनी विकास कोषले बुद्धजयन्तीको सन्दर्भमा सरोकारवालासंग सुझाब संकलन शुरु गरेको छ  ।

कोरोना संक्रमणको कारण भौतिक रुपमा ठूलो संख्यामा उपस्थित भएर कार्यक्रम गर्न मुश्किल हुने भएपछि बैकल्पीक उपाय मार्फत बुद्धजयन्ती मनाउन सकिनेगरी सरोकारवालाले सुझाब दिईरहेको विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

सदस्यसचिव शाक्यका अनुसार कोषले आईतबारदेखि सरोकारवालासंग सुझाब लिन थालेको हो । यसैबीच आईतबार विहान कोषले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीका प्रतिनिधीसँग छलफल गरेको थियो । उक्त छलफलमा पर्यटन व्यवसायीहरु गोबिन्द ज्ञवाली, लिलामणी शर्मा,  हेम बिस्ट , शेखर कार्कि लगायतले बुद्धजयन्तीलाई साप्ताहिक रुपमा मनाउने र हरेक दिन थोरै थोरै संख्यामा मानिसहरु उपस्थित हुनेगरी पुजाआजा गर्नु उपयुक्त हुने सुझाब दिएका छन् ।

यसैगरी आईतबार नै कोषले नेपाल पत्रकार महासंघ रुपन्देहीका प्रतिनिधीसँग छलफल गरेको छ । छलफलमा महासँग रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आसन्न बुद्धजयन्तीमा मिडीयाको उपयोग अधिकत्तम गरेर बुद्ध, धर्म र संघको प्रचार प्रसारमा बढी लाग्नुपर्नेमा जोड दिएका छन् ।

महासंघका जिल्ला उपाध्यक्ष विश्वास ढकाल, सचिव विनोद परियार, कोषाध्यक्ष सन्जय सौगात लगायतले कोभिढको कारण चौतर्फी रुपमा डर , त्रास फैलिएको हुदा मानिसहरुको मनोबल उचो हुनेगरी विभिन्न धार्मिक कार्यक्रम गर्न सके फलदायी हुने सुझाब दिएका हुन् ।

सो अवसरमा महासंघको रुपन्देही जिल्लामा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यलाई लुम्बिनी विकास कोषले सम्मान समेत गरेको थियो ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य, सदस्यसचिव सानुराजा शाक्य, कोषका कार्यकारी सदस्य श्रीराम यादव, योजना प्रमुख सरोज भट्टराई, कोषका परिषद सदस्य इन्साफ अलि, प्रशासन महाशाखा प्रमुख ज्ञानिन राई, सूचना शाखा प्रमुख डा. हरिध्वज राई, मिडीया कन्सलटेन्ट नरेश के.सी लगायतले सरोकारवालासँग  सुझाब संकलन तथा छलफल गरिरहेको कोषका सूचना अधिकृत राजन बस्नेतले बताउनुभयो ।